‘दन्किँदो भूटान’ मा मैले नेपालमा पनि प्रजातन्त्र आएन भने राजतन्त्र नै जान्छ भनेको थिएँ । आखिर, आएको प्रजातन्त्र पनि राजाले खोसेपछि त्यहाँबाट राजतन्त्र फालियो । सिक्किम भारतमा विलय हुने कुरा पनि मैले देखेको थिएँ र ‘दन्किँदो भूटान’मा लेखेको थिएँ । त्यो भविष्यवाणी होइन, राजनीतिक घटनाक्रमको विश्लेषणमा आधारित निचोड थियो । म अहिले पनि देख्दैछु कि भूटानको राजतन्त्र पनि या त परिवर्तन हुनुपर्छ, नहीँ भने विदा हुनु नै पर्छ ।
लामीटारे
देवीभक्त लामीटारे
देवीभक्त लामीटारे भूटानको एक सामान्य आर्थिक स्थिति भएको परिवारका सदस्य हुन् । लामीटारे परिवारको पुख्र्यौली पेशा पौरोहित्य अर्थात् जजमानी हो । दक्षिण–पश्चिमी भूटानको साम्ची जिल्लामा पर्ने बाँडा जुम्साको लामिटार भन्ने गाउँमा बसोबास गरेका देवीभक्तका पिता टीकाराम अधिकारी त्यस ठाउँका जानेमानेका कर्मकाण्डी पुरोहित र सामान्य खेतिपाती तथा पशुपालन व्यवसायमा पनि संलग्न व्यक्ति थिए ।
चिराङ जिल्लाको लप्सीबोटे गाउँमा पिता टीकाराम र माता हिमादेवीका छैटौँ सन्तानका रूपमा वि.सं. १९९४ मा जन्मिएकाज्ञ देवीभक्त बाल्यकालमा धेरै चञ्चले र निडर स्वभावका थिए भन्ने कुरा परिवारका सदस्यहरूबाट थाहा हुन्छ ।देवीभक्तका सहोदार भ्राता–भगिनीहरूमध्ये सबैभन्दा जेठा शिवप्रसाद र त्यसपछि जेठी दिदी चन्द्रकला तिम्सिनाको जन्म भएको थियो । त्यसपछि टीकाराम हिमादेवी दम्पतीबाट लगातार तीन छोरीको जन्म भयो । माइली छोरी सानैमा बितेकाले लामीटारे परिवारलाई उनको नाम याद छैन । साइँली र काइँली छोरी यशोदा तिम्सिना र रनधाता हुन् । तीमध्ये रनधाताको नेपालको झापामा र बाँकीको भूटानमै मृत्यु भएको हो । रनधातापछि देवीभक्त लामीटारे छैटौँ सन्तान र दोस्रो छोराको रूपमा जन्मिएका थिए । उनीपछि उनका भाइ देवीचरण, कान्छी बहिनी कौशिल्या ढुङ्गेल र कान्छो भाइ भीमप्रसादको जन्म भएको थियो । दुवै जना भाइहरू शरणार्थीहरूको तेस्रो देश पुनर्वासअन्तर्गत अमेरिका आइपुगेका छन् भने सन् १९६८ मै भूटान छाडेपछि कौशिल्याको बसोबास सपरिवार झापाको चिल्लागडमा छ । देशमा प्रजाराज कायम नभएसम्म संघर्ष जारी राख्न आह्वान गरेका देवीभक्त २०२२ फेब्रुअरी ५ का दिन एक सन्यासी साधुका रूपमा भारत, उत्तराखण्डको हरिद्वारमा आफ्नो पञ्चभौतिक शरीर त्यागेर ब्रह्मलीन भए ।
देवीभक्तलाई साउँअक्षर चिन्न मात्र होइन; गीता, सप्तसती र सामान्य वेद, रुद्री अध्ययन गर्ने व्यवस्थासमेत घरमै गरिएको थियो । जेठा दाजु शिवप्रसाद र पिता टीकारामलाई समेत जजमानी कार्यमा सहयोग गर्न थालेका देवीभक्तलाई अग्रिम शिक्षाआर्जनका लागि सोही जिल्लाको सलामी गाउँमा स्थापित संस्कृत पाठशालामा भर्ना गरिएको थियो । त्यसताका भूटानकै जाने–मानेका संस्कृतका प्रकाण्ड विद्वान् पण्डित काशीनाथ प्याकुरेलका सान्निध्यमा रहेर संस्कृत व्याकरण र नीतिशास्त्रहरूको अध्ययनबाट उनको प्रारम्भिक शिक्षा अगाडि बढेको थियो ।
लेखकका बारेमा थप जानकारी ‘दन्किदो भूटान’ मा छ ।