भूटानी नागरिकहरूको अभिव्यक्ति स्वतन्त्रताका पक्षमा आवाज दिएको सावित हुनेछ भन्ने महसुस गरी सोसाइटी अघि सरेर यो प्रकाशन गरेको हो । यस प्रयासलाई भूटानी समुदायले त्यसै रूपमा सकारात्मकताका साथ ग्रहण गर्नेछ भन्ने अपेक्षा भूटान मिडिया सोसाइटीले राखेको छ । सन् २०२३ मा आएर भूटानी अभिव्यक्ति स्वतन्त्रताको आन्दोलनको परिचायक ‘दन्किँदो भूटान’ अद्यावधिक तथा परिमार्जित रूपमा प्राप्त गर्नुहुने सम्पूणर्ण पाठकवर्गप्रति यस ऐतिहासिक सामग्रीको महत्ता र गरिमालाई आत्मसात् गर्दै पुस्तकको सन्देशका बारेमा व्यापक विमर्शमा सहभागी भई सहयोग गरिदिनुहुन आग्रह गर्न चाहन्छु ।

प्रकाशकीय

भूटान मिडिया सोसाइटी

भूटानी शरणार्थी पत्रकारहरूको संस्था भूटान मिडिया सोसाइटी सन् २००४ मा नेपालमा स्थापना भएको गैरनाफामुखी स्वयमसेवी संस्था हो । हाल संयुक्त राज्य अमेरिकाको नर्थ क्यारोलाइनाबाट सञ्चालित सोसाइटी भूटानमा प्रेस र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा क्रियाशील छ ।

‘दन्किँद‍ो भूटान’ को अद्यावधिक तथा परिमार्जित चौथो संस्करणको प्रकाशन सोसाइटीका संस्थापक सभापति विद्यापति मिश्रको पहलकदमीमा भएको हो । सन् २००१ बाट पत्रकारिता शुरू गरेका मिश्रले एपीएफए–भूटान, भूटान समाचार सेवा तथा ‘द भूटान रिपोर्टर’ पत्रिकाको थालनी तथा संचालनमा योगदान गरेका छन् । मिश्र हाल नर्थ क्यारोलाइनामा बसोबास गर्छन् ।